|
|
काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खुसी सरकार सञ्चालन र जथाभावी घोषणा मात्रै गर्ने गरेको भन्दै यस कार्यले गठबन्धनको मर्म र भावना गएको आरोप लगाउनुभएको छ ।
नेपालवणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता महतले प्रधानमन्त्रीले जथाभावी घोषणा गर्ने कार्यले सरकारलाई समस्या उत्पन्न हुने बताउनुभयो । ‘सरकार अहिले जसरी चलेको छ यो सरासर गलत छ’, उहाँले भन्नुभयो, ‘प्रचण्डले जसरी घोषणा गरेका छन् त्यो गलत छ । यो कार्य रोकिनु पर्छ ।’
राहत होस् वा विकासका नाममा प्रधानमन्त्री दाहालले दिनदिनै विभिन्न घोषणा गरेर समस्या उत्पन्न गरेको कांग्रेस नेता महतको आरोप थियो ।
संविधान संशोधनको कुरा उठेको विषयमा आफूलाई धेरै जानकारी नरहेको बताउनुभएका नेता महतले भन्नुभयो, ‘यस विषयमा कांग्रेसभित्र छलफल भएको छैन । पार्टीमा छलफल नभएर संविधान कसरी संशोधन हुन्छ ?’
स्थानीय तहको पुनर्संरचना, सरकार सञ्चालनको विधिका बारेमा पनि कांग्रेसभित्र छलफल आवश्यक रहेको भन्दै उहाँले छिटो केन्द्रीय कार्यसमिति बोलाउन सभापति शरेबहादुर देउवासँग अगा्रह गर्नुभयो ।
संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको महतले बताउनुभएको छ । ‘यथाअवस्थामै स्थानीय निकायको चुनाव गरौँ भनेको छु’, उहाँले भन्नुभयो, ‘इलाकालाई आधार बनाएर चुनाव गर्दा पनि त्यसको अधिकार क्षेत्रमा समस्या रहन्छ । अहिलेको जिल्लालाई तुरुन्त खारेज गर्नु हुँदैन । पुरानै संरचनामा स्थानीय निकायको चुनाव गर्नु उत्तम हुन्छ ।’
dainik nepal
|
|

No comments:
Post a Comment